वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु, आइतबार–शनिबार सार्वजनिक बिदा कार्यान्वयन गर्न निर्देशन

२६ चैत, काठमाडौ । — शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय कार्यान्वयन गर्न देशभरका स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को निर्णयअनुसार मन्त्रिपरिषद्ले गरेको व्यवस्था कार्यान्वयन गर्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयसँगै नयाँ शैक्षिक कार्यक्रम तयार पार्न केन्द्रले आग्रह गरेको हो।
केन्द्रले जारी गरेको परिपत्रमा विद्यालयहरूले परिवर्तित बिदा प्रणालीअनुसार शैक्षिक गतिविधि, कार्यक्रम तथा योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, सबै विद्यालयलाई आवश्यक समन्वय र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ।
परिपत्रअनुसार विद्यालयहरूले शैक्षिक सत्र २०८३ का लागि कार्ययोजना निर्माण, वार्षिक शैक्षिक कार्यक्रम तयारी, विद्यालय सुधार योजना अद्यावधिक, शिक्षकको पेशागत क्षमता विकास कार्यक्रम सञ्चालन तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना बनाउनु पर्नेछ।
यसैगरी, शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेदेखि सुरु हुने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गरिने जानकारी पनि केन्द्रले दिएको छ।

  • सम्बन्धित समाचारहरु

    अमेरिकाको लुजियाना राज्यमा गोली चलाएर ८ बालबालिकाको हत्या

    Read more

    गृहमन्त्री गुरुङमाथि सम्पत्ति लुकाएको आरोप, पद संकटमा

    Read more