देउवा पक्षले समानान्तर १५औँ महाधिवेशन गर्ने तयारी

१३ भदौ, काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाएको छ।

महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी नगरेपछि देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी थालेको हो।

शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको अनौपचारिक छलफलपछि समानान्तर महाधिवेशनको मिति र समय तय गर्न आगामी बुधबार तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको बैठक बोलाइएको छ।

देउवा पक्षको नेतृत्व सम्हालिरहेका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाए आफूहरूले पनि समानान्तर रूपमा महाधिवेशन गर्ने बताएका छन्।

संस्थापन पक्षले भने आगामी भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी महाधिवेशनको कार्यतालिका अघि बढाइसकेको छ। कार्यतालिकाअनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने तयारी छ।

महाधिवेशनको प्रक्रिया, नेतृत्व र कार्यतालिकालाई लिएर कांग्रेसभित्र देखिएको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। अदालतले तत्काल प्रक्रिया रोक्ने गरी अन्तरकालीन आदेश नदिएपछि संस्थापन पक्षलाई निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।

यता देउवा पक्षले पनि छुट्टै महाधिवेशन गर्ने तयारी थालेपछि नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप जटिल बन्ने देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more