सुरुङभित्र फसेकाको उद्धारका लागि भारतबाट विशेष टोली काठमाडौंमा, सरकारको निर्देशनको पर्खाइ

१३ भदौ, काठमाडौ । –भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि भारतबाट विशेष उद्धार तथा प्राविधिक टोली काठमाडौं आइपुगेको छ। सुरुङभित्र रहेका व्यक्तिको जीवनरक्षा र उद्धारलाई प्रभावकारी बनाउन आवश्यक प्रविधि तथा अत्याधुनिक उपकरणसहित विशेषज्ञ टोली नेपाल आएको हो।

प्राप्त जानकारीअनुसार, सुरुङभित्रको कठिन भौगोलिक अवस्था र आवश्यक प्रविधि तथा उपकरणको अभावका कारण हिजो बेलुकासम्म नेपाली सेनाको उद्धार टोली सुरुङको गहिराइसम्म पुग्न सकेको थिएन। त्यसकारण हालसम्म भएका उद्धार कार्य मुख्यतः सुरुङको मुखबाटै सम्भव भएका थिए।

भारतबाट आएको विशेषज्ञ टोली अहिले भारतीय दूतावासमा स्ट्यान्डबाइ अवस्थामा रहेको छ। नेपाल सरकारबाट आवश्यक निर्देशन प्राप्त हुनासाथ टोली प्रभावित क्षेत्रमा पुगेर सुरुङभित्र प्रवेश गरी उद्धार अपरेसन सुरु गर्ने तयारीमा छ।

सुरुङभित्र फसेकाहरूको अवस्था अझै चिन्ताजनक रहेकाले समयमै उद्धार गर्न चुनौतीपूर्ण बनेको छ। अक्सिजनको अवस्था, सुरुङभित्रको पानी, संरचनागत जोखिम र सीमित पहुँचका कारण उद्धार कार्य अत्यन्त जोखिमपूर्ण मानिएको छ।

प्रविधि र विशेषज्ञ जनशक्तिको अभावमा कठिन बनेको उद्धार अभियानमा भारतीय विशेष टोलीको आगमनले आशा थपिएको छ। अब अत्याधुनिक उपकरण र विशेषज्ञताको प्रयोगबाट सुरुङभित्र फसेका सबैलाई सकुशल बाहिर निकाल्न सकिने अपेक्षा गरिएको छ।

तर सुरुङभित्रको वास्तविक अवस्था र उद्धारको पहुँचबारे पूर्ण जानकारी प्राप्त भएपछि मात्रै सफल उद्धारको यकिन गर्न सकिने अधिकारीहरू बताउँछन्। सुरक्षा मापदण्ड पालना गर्दै उद्धार टोलीले अपरेसन अघि बढाउने तयारी गरेको छ।

  • सम्बन्धित समाचारहरु

    सिरहामा मन्त्री पोखरेलविरुद्ध नाराबाजी, सम्बोधन बीचमै छाडेर फर्किए

    Read more

    जापानमा हुने एसियाली खेलकुदका लागि नेपालबाट २११ सदस्यीय टोली जाने

    Read more