१० भदौ, काठमाडौ । रसुवामा बुधबार बिहान आएको बाढीबाट भएको क्षतिको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा रसुवामा आएको बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे सम्बन्धित निकायले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ ।
बैठकमा बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री शाहले विपद्पछिको अवस्थालाई ध्यानमा राख्दै आगामी कदमबारे सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहले विपद्को यस क्षणमा सबैलाई आ–आफ्नो स्थानबाट बाढी प्रभावित क्षेत्रमा परिचालित हुन तथा प्रभावित नागरिकको उद्धार, खोजी र राहत कार्यमा जुट्न आग्रहसमेत गरेका छन् ।
सरकारले बाढी प्रभावित क्षेत्रमा आवश्यक समन्वय गर्दै उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।

















