२८ असार ,जनकपुरधाम । अमेरिका भ्रमणमा रहेका प्रतिनिधिसभा सदस्य मनिष झाले जानकी मन्दिर गुठीको अतिक्रमित जग्गा एक महिनाभित्र खाली गराइने प्रतिबद्धता व्यक्त गरेका छन्।
न्यूयोर्कमा आयोजित प्रवासी नेपालीहरूसँगको अन्तरक्रियाका क्रममा जनकपुरको विकास, जनकपुर चुरोट कारखानाको अवस्था तथा जानकी मन्दिर गुठीको अतिक्रमित जग्गाबारे प्रश्न उठेपछि सांसद झाले सात समुद्रपार पनि आफ्नो जन्मभूमिको विषयमा चासो व्यक्त भएकोमा गौरव महसुस भएको बताएका हुन्।
उनले बस्ती रहेको क्षेत्रबाहेक जानकी मन्दिर गुठीको अतिक्रमित सम्पूर्ण जग्गा एक महिनाभित्र खाली गराइने दाबी गर्दै आवश्यक परे डोजर प्रयोग गर्नसमेत पछि नहट्ने स्पष्ट पारे।
सांसद झाको उक्त अभिव्यक्तिपछि जनकपुरमा लामो समयदेखि अतिक्रमणमा परेको गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि अब निर्णायक कदम चालिने अपेक्षा गरिएको छ।
यस्तै, प्रवासी नेपालीहरूले जनकपुरको समग्र विकास, चुरोट कारखानाको पुनः सञ्चालन तथा धार्मिक सम्पदाको संरक्षणका विषयमा पनि सांसद झासँग चासो र सुझाव राखेका थिए।


















