जनकपुरधामसहित देशभर वर्षा, सतर्क रहन मौसमविद्को आग्रह

२९ असार , जनकपुरधाम।  मनसुनी प्रणाली सक्रिय भएसँगै जनकपुरधामसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा हल्कादेखि भारी वर्षासम्म हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा हाल नेपालका तराई भूभाग नजिक रहेकाले विशेषगरी मधेश प्रदेश तथा अन्य तराईका जिल्लाहरूमा मुसलधारे वर्षा, हावाहुरी, बादल गर्जन तथा चट्याङ पर्ने सम्भावना रहेको छ।
जनकपुरधामसहित धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा लगातार वर्षा भइरहेकाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, डुबान, सडक अवरोध तथा दैनिक जनजीवन र यातायात प्रभावित हुन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको संयुक्त प्रभाव रहेकाले वर्षाको गतिविधि बढेको हो।
मौसमविद्हरूले आवश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा नजान, नदी–खोला तर्न नखोज्न, चट्याङ पर्दा खुला स्थानमा नबस्न तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

    Read more

    देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, संयम अपनाउन आग्रह

    Read more