नयाँ प्रणालीबाट राहदानी छपाइ सुरु, प्रारम्भिक चरणमा केही ढिलाइ हुन सक्ने

२९ असार , काठमाडौं। राहदानी विभागले अत्याधुनिक सूचना प्रविधिमा आधारित नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी छपाइ औपचारिक रूपमा सुरु गरेको छ।
सोमबारदेखि जर्मन कम्पनीद्वारा विकसित नयाँ प्रणालीमार्फत राहदानी छपाइ सुरु गरिएको हो। नयाँ प्रणालीको शुभारम्भ कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतकुमार राई तथा अन्य उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा परराष्ट्रमन्त्री खनालले नयाँ प्रणालीबाट जारी भएको पहिलो राहदानी सेवाग्राही निवेश शाही र ओस्कर गुरुङलाई हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।
राहदानी विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ। विभागले यसलाई नेपालको सबैभन्दा ठूलो डिजिटल डेटा माइग्रेसनमध्ये एक उपलब्धि भएको जनाएको छ।
विभागका अनुसार प्रणाली सञ्चालनको प्रारम्भिक चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने, प्रणाली केही सुस्त चल्न सक्ने तथा राहदानी वितरणमा हल्का ढिलाइ हुन सक्ने सम्भावना रहेको छ। यद्यपि, सम्भावित समस्या समाधानका लागि प्राविधिक टोली तथा प्रणाली विकासकर्ताहरू २४सै घण्टा तयारी अवस्थामा रहेको विभागले जनाएको छ।
राहदानी विभागले आगामी केही साताभित्र प्रणाली अझ छिटो, स्थिर र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र तत्काल राहदानी आवेदन दिन आग्रह गरेको छ। विभागका अनुसार यसले नयाँ प्रणालीलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more