२९ असार , काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले जलनका बिरामीले समयमै गुणस्तरीय उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले देशका सबै प्रदेशमा आधुनिक सुविधा सम्पन्न बर्न उपचार केन्द्र स्थापना गरी नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।
प्रधानमन्त्री शाहले हाल जलनका बिरामीले भोग्दै आएको उपचार अभाव, विशेषज्ञ सेवा र आवश्यक पूर्वाधारको कमीलाई ध्यानमा राख्दै प्रमुख सरकारी अस्पतालका बर्न वार्डहरू सुदृढ बनाउन विशेष जोड दिएका छन्।
त्यसैगरी, सङ्घ, प्रदेश तथा स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्दै गुणस्तरीय, छिटो र पहुँचयोग्य उपचार सेवा सुनिश्चित गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सरकारले बर्न उपचार सेवाको विस्तारसँगै देशभर जलनका बिरामीलाई समयमै उपचार उपलब्ध गराई मृत्यु दर घटाउने तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य लिएको जनाएको छ।

















