अपन जनकपुरधाम’ स्थानीय पाठ्यक्रमको चौतर्फी स्वागत, मातृभाषा संरक्षणतर्फ ऐतिहासिक कदमको प्रशंसा

२३ असार , जनकपुरधाम। — जनकपुरधाम उपमहानगरपालिकाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि मातृभाषा मैथिलीमा तयार गरिएको ‘अपन जनकपुरधाम’ स्थानीय पाठ्यक्रम लागू गरेपछि त्यसको चौतर्फी स्वागत भएको छ। भाषा, साहित्य तथा शिक्षा क्षेत्रमा सक्रिय संस्थाहरूले यसलाई स्थानीय भाषा, संस्कृति र पहिचान संरक्षणतर्फको ऐतिहासिक तथा दूरदर्शी निर्णयको रूपमा व्याख्या गरेका छन्।

मैथिली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय मिथिला नाट्यकला परिषद् (मिनाप)ले विज्ञप्ति जारी गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, पाठ्यक्रम निर्माणमा संलग्न विज्ञ, लेखक, अनुवादक तथा सम्पूर्ण नगर परिवारप्रति धन्यवाद तथा बधाई ज्ञापन गरेको छ।

परिषद्का महासचिव विष्णुकान्त मिश्रद्वारा जारी विज्ञप्तिमा २०३६ सालदेखि मैथिली भाषा, साहित्य र संस्कृतिको विकासका लागि निरन्तर आवाज उठाउँदै आएको संस्थाले अब विद्यालय तहबाटै मातृभाषामा सहज, सरल र प्रभावकारी शिक्षणको वातावरण तयार भएको उल्लेख गरिएको छ। परिषद्ले यस्ता रचनात्मक कार्य आगामी दिनमा पनि निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

यसैगरी, निजी विद्यालयहरूको छाता संगठन हिसान नेपाल तथा एन प्याब्सन आबद्ध संस्थागत विद्यालय तथा क्याम्पसहरूले पनि संयुक्त रूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णयप्रति आभार व्यक्त गरेका छन्।

उनीहरूले जनकपुरधामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भौगोलिक तथा सामाजिक पहिचान समेटिएको ‘अपन जनकपुरधाम’ पाठ्यक्रमले नयाँ पुस्तालाई आफ्नै माटो, सभ्यता र संस्कृतिसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

संस्थाहरूका अनुसार मातृभाषामा तयार गरिएका पाठ्यपुस्तकबाट अध्ययन गर्दा विद्यार्थीले विषयवस्तु सहज रूपमा बुझ्न सक्ने, स्थानीय ज्ञानसँग घुलमिल हुन सक्ने तथा भाषा संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। साथै स्थानीय इतिहास, मिथिला सभ्यता, चाडपर्व, मेला, जात्रा, परम्परा तथा सांस्कृतिक सम्पदाबारे विद्यालय तहदेखि नै अध्ययन हुने भएकाले जनकपुरधामको मौलिक पहिचान दीर्घकालसम्म संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दुवै संस्थाले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा, पाठ्यक्रम निर्माण टोली तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more