प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डाबीच भेट, विकास साझेदारी थप सुदृढ बनाउने प्रतिबद्धता

२३ असार, काठमाडौ । — प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले मंगलबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा नेपाल सरकार र एडीबीबीचको करिब ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार करिब आधा घण्टा चलेको भेटमा दुवै पक्षले पारस्परिक सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनमार्फत नेपालको विकासले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभएको थियो। उहाँले जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्दै डिजिटलाइजेसन तथा पर्यटकीय सडक पूर्वाधार विस्तारमा एडीबीसँग सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो।
एडीबी अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर साथ रहने बताउनुभयो।
उहाँले नेपालको आर्थिक सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। नेपालको सफलताका लागि एडीबी सधैं सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more