२१ असार , काठमाडौ । काठमाडौं — नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्।
नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार सुशासन र विकासका लागि नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा महिला, दलित, आदिवासी–जनजातिले प्राप्त गरेका अधिकार खोस्ने उद्देश्यका साथ अघि बढिरहेको दाबी गरे।
‘यो सरकार सुशासन र विकासको निम्ति होइन, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा महिला, दलित, आदिवासी–जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ। खबरदार, अब हामी सबै एकपटक जुर्मुरिनुपर्ने अवस्था आएको छ,’ दाहालले भने।
उनले आफ्नो पार्टीका विगतका कमजोरी पनि स्वीकार गरे। वर्ग संघर्ष, वैचारिक स्पष्टता र रणनीतिलाई बेवास्ता गर्नु ठूलो भूल भएको उल्लेख गर्दै त्यसको मुख्य जिम्मेवारी आफूले लिनुपर्ने बताए।
‘हामी बिग्रियौँ। त्यसको मुख्य जिम्मेवारी मैले लिनुपर्छ। तीन पटक प्रधानमन्त्री भइसकेको छु, त्यसैले अरूलाई दोष दिएर म उम्किन सक्दिनँ,’ उनले भने। उनले कहिलेकाहीँ सबैलाई मिलेर आफूलाई नेतृत्वबाट हटाइदिनुस् भन्ने मनसमेत हुने अभिव्यक्ति दिए।
दाहालले विगतका कमजोरीबाट शिक्षा लिएर पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।
















