२१ असार ,जनकपुरधाम — मैथिली विकास कोषले जनकपुरधाम उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि विद्यालयहरूमा मैथिली माध्यमबाट स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णयको स्वागत गर्दै नगर प्रमुख मनोज कुमार साहसहित सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
कोषका अध्यक्ष जीवनाथ चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त निर्णयलाई ऐतिहासिक, दूरदर्शी तथा मातृभाषा संरक्षणमा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरिएको छ। नगर प्रमुख मनोज कुमार साह, जनप्रतिनिधि, शिक्षा शाखा, स्थानीय पाठ्यक्रम निर्माण समिति, विज्ञ तथा अभियानमा योगदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको छ।
विज्ञप्तिमा मातृभाषामा शिक्षाले बालबालिकालाई आफ्नै भाषा, संस्कृति, इतिहास, लोकपरम्परा तथा मिथिलाको गौरवशाली पहिचानसँग गहिरो रूपमा जोड्ने उल्लेख गरिएको छ। स्थानीय पाठ्यक्रमको कार्यान्वयनलाई केवल शैक्षिक निर्णय नभई मिथिलाको अस्मिता, सभ्यता र सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने ऐतिहासिक पहलका रूपमा वर्णन गरिएको छ।
मैथिली विकास कोषले जनकपुरधाम उपमहानगरपालिकाको यो कदम सम्पूर्ण मिथिलाका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्दै अन्य स्थानीय तहले पनि मातृभाषामा आधारित शिक्षालाई प्राथमिकता दिने अपेक्षा गरेको छ।
साथै, कोषले मैथिली भाषा, साहित्य, शिक्षा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि जनकपुरधाम उपमहानगरपालिकासँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ।


















