२१ असार , काठमाडौ । — देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मौसममा यसको प्रभाव देखिएको हो।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने सम्भावना छ। ती क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा हुने तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थान, कोशी र कर्णालीका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिमका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्ले लगातारको वर्षासँगै नदी–नालामा बहाव बढ्ने, पहिरो जाने तथा डुबानको जोखिम रहने भएकाले विशेषगरी पहाडी र तराई क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।


















