१४ असार , काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्ने संकेत गरेका छन्। प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले त्यसको प्रभाव केही समयपछि नेपालमा पनि देखिने बताएका हुन्।
उनका अनुसार मध्यपूर्वमा देखिएको तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको छ। नेपालले भारतीय आयल निगम (आईओसी) मार्फत इन्धन आयात गर्ने भएकाले मूल्य समायोजन हुन केही समय लाग्ने भए पनि अब पेट्रोलियम पदार्थको मूल्य घट्ने अवस्था बनेको उनले स्पष्ट पारे।
“क्रुड आयलको मूल्य घटिसकेको छ। भारतीय आयल निगममार्फत आयात हुने प्रक्रियाका कारण केही समयको अन्तराल हुनेछ, तर अब पेट्रोलियम पदार्थको मूल्य घट्ने अवस्था बनेको छ,” अर्थमन्त्री वाग्लेले भने।
उनले आफू अर्थमन्त्री बनेको दुई साताभित्रै डिजेल, पेट्रोल र मट्टितेलको आयातमा लाग्ने भन्सार महसुल तथा पेट्रोल र डिजेलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको स्मरण गराउँदै त्यसबाट उपभोक्तामाथिको मूल्यवृद्धिको भार केही कम भएको दाबी गरे।
मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा नेपाली उपभोक्ताले पनि त्यसको प्रत्यक्ष असर भोग्नुपरेको उल्लेख गर्दै वाग्लेले अब अन्तर्राष्ट्रिय परिस्थिति सामान्य बन्दै गएकाले आगामी दिनमा इन्धनको मूल्यमा राहत मिल्ने विश्वास व्यक्त गरे।


















