सुनसरी घटनापछि हिन्दुवादी संगठन एकजुट, ‘संयुक्त हिन्दू मोर्चा’ गठन; हिन्दू राष्ट्र घोषणा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

१४ साउन ,जनकपुरधाम।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनालाई लिएर नेपालका विभिन्न हिन्दुवादी संघ–संस्था तथा संगठनहरू एकजुट भएका छन्। उनीहरूले ‘संयुक्त हिन्दू मोर्चा’ गठन गर्दै सरकारसमक्ष विभिन्न माग अघि सारेका छन्।

मोर्चाले जारी गरेको मागपत्रमार्फत नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा नगरेसम्म आन्दोलन जारी राख्ने स्पष्ट चेतावनी दिएको छ। मोर्चाले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएको छ।

मोर्चाले घटनामा संलग्न सम्पूर्ण दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न, घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न तथा गोली चलाउने दोषी र घटनाका योजनाकारहरूको नाम सार्वजनिक गर्न माग गरेको छ।

त्यस्तै, मृतक परिवारलाई ६० लाख रुपैयाँ क्षतिपूर्ति, मृतक परिवारका एक जनालाई सरकारी जागिर तथा घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्नुपर्ने माग गरिएको छ। मृतकलाई शहीद घोषणा गर्न पनि मोर्चाले माग गरेको छ।

मोर्चाले घटनामा प्रशासनिक लापरबाही तथा सुरक्षा कमजोरी भएको भन्दै सम्बन्धित जिम्मेवार अधिकारीमाथि समेत कारबाही र पदबाट बर्खास्त गर्न माग गरेको छ।

मागपत्रमा नेपालका मस्जिद तथा मदरसामा उच्चस्तरीय जाँच–निगरानी गर्नुपर्ने, विदेशी नेटवर्क तथा फन्डिङको छानबिन गर्नुपर्ने र मस्जिदबाट बज्ने लाउडस्पिकर हटाउनुपर्ने मागसमेत उल्लेख छ।

त्यसैगरी, रोहिंग्या, बंगलादेशी तथा पाकिस्तानी नागरिकको उपस्थिति तथा गतिविधिको छानबिन गरी आवश्यक कदम चाल्न, मुस्लिम समुदायका पछिल्ला तीन पुस्तासम्मको नागरिकता छानबिन गर्न र गृह मन्त्रालयअन्तर्गत रहेको हज यात्रा समितिको कार्यालय हटाई हज यात्रा समिति खारेज गर्नुपर्ने माग मोर्चाले राखेको छ।

मोर्चाले राष्ट्रिय सुरक्षाको विषय भन्दै प्रधानमन्त्रीका सल्लाहकार तथा संविधान संशोधन संयोजक मो. आरिफ शाहलाई तत्काल बर्खास्त गर्नुपर्ने माग पनि अघि सारेको छ।

सबैभन्दा महत्वपूर्ण रूपमा मोर्चाले नेपालको राष्ट्रिय पहिचानलाई वैदिक सनातन हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेको छ।

मोर्चाले माग पूरा नभएसम्म प्रदर्शन जारी रहने जनाएको छ। मागपत्रमा विभिन्न हिन्दुवादी संघ–संस्था, संगठन तथा अभियन्ताहरूको समर्थन रहेको उल्लेख गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रदर्शन चर्किएपछि जनकपुर उपमहानगरपालिकाभित्र अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

    Read more

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more