१३ असार, काठमाडौ । फ्रान्समा हालै परेको रेकर्ड तोड्ने गर्मीको लहरका कारण अपेक्षाभन्दा करिब एक हजार बढी मानिसको मृत्यु भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ।
फ्रान्सको पब्लिक हेल्थ फ्रान्स ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, २४ जुनयता पछिल्ला महिनाहरूको औसतको तुलनामा करिब एक हजार अतिरिक्त मृत्यु भएको देखिएको छ। तीमध्ये ८५ प्रतिशत मृतक ६५ वर्ष वा सोभन्दा माथिका रहेका छन्।
स्वास्थ्य निकायका अनुसार, गर्मीका लागि रेड अलर्ट जारी गरिएका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्। विशेषगरी इले-डी-फ्रान्स क्षेत्र, जहाँ राजधानी पेरिस र आसपासका क्षेत्र पर्छन्, त्यहाँ घरमै मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा बढेको पाइएको छ।
एजेन्सीले एक्लै बस्ने, सामाजिक रूपमा अलग भएका तथा अत्यधिक सहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई विशेष सहयोग र संरक्षण आवश्यक रहेकोमा जोड दिएको छ।
यद्यपि, सार्वजनिक गरिएका तथ्यांक प्रारम्भिक भएकाले वास्तविक मृतक संख्या अझ बढी हुन सक्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
पछिल्ला केही दिनदेखि फ्रान्ससहित पश्चिमी युरोपका धेरै क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन प्रभावित भएको थियो। आइतबारदेखि भने देशभर गर्मीको लहर केही कम हुन थालेको जनाइएको छ।


















