१५ साउन , जनकपुरधाम। पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै धनुषामा सामाजिक सद्भाव, शान्ति तथा धार्मिक सहिष्णुता कायम राख्न सर्वपक्षीय प्रतिबद्धता व्यक्त गरिएको छ।
धनुषा जिल्लामा २०८३/०४/१५ गते बसेको सर्वपक्षीय सद्भाव समितिको बैठकले जिल्लाको शान्ति, सुरक्षा तथा सामाजिक अवस्थाबारे छलफल एवं समीक्षा गर्दै विभिन्न निर्णय गरेको हो।
बैठकले धनुषा सदरमुकामलगायत जिल्लाका अन्य स्थानमा सामाजिक सद्भाव, शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सबै धर्म तथा समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, संघसंस्था, स्थानीय तहका जनप्रतिनिधि तथा सञ्चारकर्मीले आ–आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने निर्णय गरेको छ। नागरिकबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न सबै क्षेत्रबाट आवश्यक पहल तथा सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
त्यसैगरी, सामाजिक सञ्जालमार्फत धार्मिक अफवाह फैलाउने, पुराना सन्दर्भ वा घटनालाई प्रचारमा ल्याएर एकअर्काको धर्म एवं सम्प्रदायप्रति वितृष्णा पैदा गर्ने, आपत्तिजनक तथा अशोभनीय टिप्पणी गर्ने र सामाजिक सद्भाव बिगार्ने गतिविधिलाई निरुत्साहित गर्ने निर्णय गरिएको छ। बैठकले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।
बैठकले विभिन्न धर्म, जातजाति, भाषाभाषी एवं सम्प्रदायका नागरिकबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न जनकपुरधाममा सद्भाव ¥याली आयोजना गर्ने तथा जिल्लाका अन्य प्रमुख पालिकाहरूलाई समेत सद्भाव ¥याली आयोजना गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
सर्वपक्षीय बैठकले पछिल्लो परिस्थितिमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल, धार्मिक तथा सामुदायिक अगुवा, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकाल्दै संयम, संवाद र सहकार्यका माध्यमबाट सम्भावित तनाव तथा द्वन्द्व रोक्न आह्वान गरेको छ।


















