हिंसा र विभाजन होइन, विकास र शिक्षाबाट मधेशको पहिचान स्थापित गरौँ : ठाकुर

जनकपुरधाम, १५ साउन । देशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्था र सामाजिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै नेशनल प्याब्सन जनकपुरधाम नगर अध्यक्ष तथा समाजसेवी दिपक ठाकुरले सबै पक्षलाई संयम, सहिष्णुता र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
ठाकुरले मधेशको पहिचान हिंसा, द्वन्द्व र विभाजनबाट नभई विकास, शिक्षा, आपसी विश्वास र सहअस्तित्वबाट स्थापित हुनुपर्ने बताएका छन् । कुनै पनि असहमति वा विवादलाई सडकमा द्वन्द्व सिर्जना गरेर नभई संवाद र सहकार्यका माध्यमबाट समाधान खोज्नुपर्नेमा उनले जोड दिएका छन् ।
पछिल्ला घटनाक्रमले समाजमा अनावश्यक अविश्वास र तनाव बढाउने जोखिम रहेको उल्लेख गर्दै ठाकुरले सम्पूर्ण नागरिकलाई जिम्मेवार र संयमित व्यवहार गर्न आग्रह गरेका छन् । सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधिले अन्ततः सबै समुदाय, क्षेत्र र वर्गलाई नोक्सानी पुर्‍याउने भएकाले सबैले शान्ति र एकताको पक्षमा उभिनुपर्ने उनको भनाइ छ ।
ठाकुरका अनुसार मधेशको भविष्य विकास, गुणस्तरीय शिक्षा, उद्यमशीलता र सामाजिक एकतासँग जोडिएको छ । राजनीतिक, सामाजिक वा अन्य कुनै विषयमा मतभेद भए पनि त्यसलाई हिंसात्मक रूपमा व्यक्त गर्नु उपयुक्त नहुने उनले स्पष्ट पारेका छन् ।
‘मधेश जलाउने होइन, उज्यालो बनाउने हो । धर्म फरक हुन सक्छ, भाषा फरक हुन सक्छ, जात र संस्कृति फरक हुन सक्छ, तर हाम्रो साझा पहिचान नेपाली हो,’ ठाकुरले भनेका छन्, ‘एकअर्काप्रति सम्मान, विश्वास र सहकार्यबाट मात्रै समृद्ध समाज निर्माण गर्न सकिन्छ ।’
राष्ट्रिय एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले सबै समुदायबीच आपसी सम्मान र विश्वास कायम राख्नुपर्नेमा जोड दिएका छन् । ‘पहिला देश नेपाल, त्यसपछि हामी सबै नेपाली’ भन्ने भावनालाई आत्मसात गर्दै सामाजिक सद्भाव कायम राख्न नागरिक, युवा, अभिभावक, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सकारात्मक भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन् ।
एन–प्याब्सन जनकपुरधाम नगर अध्यक्षसमेत रहेका ठाकुरले शिक्षा क्षेत्र समाजलाई जोड्ने बलियो माध्यम भएकाले विद्यालय, शिक्षक र अभिभावकले शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउन अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
साथै, उनले वर्तमान परिस्थितिमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह तथा भ्रामक सूचनाबाट सचेत रहन र प्रमाणित तथा विश्वसनीय सूचना मात्र विश्वास गर्न सबैलाई आग्रह गरेका छन् ।
देशका विभिन्न जिल्लामा तनाव, प्रदर्शन र असहज परिस्थिति देखिएका बेला ठाकुरको अभिव्यक्तिलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्तिपूर्ण सहअस्तित्वका पक्षमा गरिएको अपिलका रूपमा लिइएको छ ।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more

    धनुषामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता, अफवाह फैलाउने गतिविधि निरुत्साहित गर्ने निर्णय

    Read more