जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

१५ साउन , जनकपुरधा।  देशका विभिन्न स्थानमा पछिल्लो समय भएका दुःखद तथा संवेदनशील घटनाप्रति जनकपुरधाम उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
विज्ञप्तिमा आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको निःशुल्क उपचार तथा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरिएको छ।
उपमहानगरपालिकाले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पर्याप्त गृहकार्य गरी अल्पकालीन तथा दीर्घकालीन योजना बनाउन नेपाल सरकारसँग जोडदार माग गरेको छ।
जनकपुरधामलाई मिथिला ज्ञानभूमि तथा विमर्शको भूमिका रूपमा उल्लेख गर्दै नगर प्रमुख साहले असहमतिलाई संवाद, तर्क, प्रमाण र औचित्यका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्। उनले ‘वादे वादे जायते तत्त्वबोधः’ अर्थात् आपसी असहमतिबीच छलफल र संवादबाट सत्यको बोध हुने मान्यतालाई आत्मसात् गर्नुपर्ने बताएका छन्।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र समेत पछिल्ला घटनाको प्रभावस्वरूप देखिएका प्रदर्शनहरूलाई शान्तिपूर्ण बनाउन उपमहानगरपालिकाले हार्दिक अपिल गरेको छ। साथै नागरिकको जीवनधनको सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गर्न र सुरक्षा बलको प्रयोगमा अधिकतम संयमता अपनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई विशेष अनुरोध गरिएको छ।
नगर प्रमुख साहले जनकपुरधामको लामो समयदेखि कायम सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकतालाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिन सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    धनुषामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता, अफवाह फैलाउने गतिविधि निरुत्साहित गर्ने निर्णय

    Read more

    हिंसा र विभाजन होइन, विकास र शिक्षाबाट मधेशको पहिचान स्थापित गरौँ : ठाकुर

    Read more