१४ साउन , काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहता तथा सिरहाका गणेश यादवको गोली लागेर मृत्यु भएको र अन्य नागरिक गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
ओलीले जारी गरेको अपिलमा हिंसाको क्रम रोक्नुको सट्टा झन् उग्र बन्दै सिरहा लगायतका विभिन्न स्थानमा समेत गोली लागेर थप नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।
उनले घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
ओलीले नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल भएको भन्दै राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकलाई संयमित रहन आग्रह गरेका छन्। भ्रामक प्रचारको पछि नलाग्न र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न सक्रिय भूमिका खेल्न उनले अपिल गरेका छन्।
सरकारको भूमिकामाथि ओलीको प्रश्न
ओलीले नागरिकको जीउधनको रक्षा गर्नु तथा संवादमार्फत समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व भएको बताएका छन्।
तर राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद एवं भर्त्सनायोग्य भएको उनको टिप्पणी छ।
उनले हिंसात्मक कदम तत्काल रोक्न र अविलम्ब संवादमार्फत समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
राजनीतिक दलबीच सहकार्य गर्न आग्रह
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै ओलीले प्रमुख राजनीतिक दलहरूलाई राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्न आग्रह गरेका छन्।
‘द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन’ भन्दै ओलीले संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै वर्तमान जटिल परिस्थितिको निकास खोज्न सकिने बताएका छन्।
राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा तथा सामाजिक सद्भावमाथि संकट आउन लागेको भन्दै ओलीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन्।

















