आगामी तीन दिन भारी वर्षाको चेतावनी, मधेशसहित विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

१३ असार , काठमाडौं — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर वर्षाको गतिविधि बढ्ने प्रक्षेपण गर्दै विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

शनिबार राति जारी विशेष बुलेटिनअनुसार आइतबारदेखि वर्षा थप सक्रिय हुने र सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार राति कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। साथै मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

वर्षासँगै कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

विभागले वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि तथा अन्य जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा तीन दिनअघि, जेठ २८ गते कोशी प्रदेश हुँदै भित्रिएको थियो। हाल मनसुन देशभर सक्रिय रहेकाले अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको विभागले जनाएको छ।

 

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more