१३ असार , जनकपुरधाम — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता पुनरावलोकन र प्रदेश सभा खारेजसम्बन्धी कुनै पनि निर्णय स्वीकार्य नहुने भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
शनिबार जनकपुरधाममा जसपा नेपालले आयोजना गरेको मधेश प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र, प्रदेश व्यवस्था र समावेशितामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो महाधिवेशनबाट पारित गरेको संघीयता पुनर्संरचना तथा प्रदेश सभा खारेजसम्बन्धी प्रस्ताव कार्यान्वयनमा लगे मधेशी जनता र जसपा नेपाल सडक आन्दोलनमा उत्रिने उनले चेतावनी दिए।
‘देशमा संघीयता कसैको दया–कृपाबाट आएको होइन। यो सयौं मधेशी जनताको बलिदानीबाट प्राप्त उपलब्धि हो,’ यादवले भने, ‘यसलाई कसैले छेडखानी गर्न खोजे जसपा नेपाल मात्रै होइन, सम्पूर्ण मधेशी जनता त्यसको प्रतिवाद गर्न सडकमा ओर्लिनेछन्।’
उनले संघीयताको रक्षा गर्न आवश्यक परे फेरि आन्दोलन गर्न तयार रहन मधेशी जनतालाई आह्वान गर्दै मधेश र मधेशीको अधिकार, पहिचान तथा सामाजिक न्यायका लागि संघर्ष जारी रहने बताए।
अध्यक्ष यादवले एउटा निर्वाचनको परिणामलाई अन्तिम सत्यका रूपमा नलिन नेता–कार्यकर्तालाई आग्रह गर्दै संगठनलाई गाउँदेखि प्रदेशसम्म थप सुदृढ बनाउन र आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए।
डिजिटल युगमा सामाजिक सञ्जाल प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै उनले पार्टीका नीति, विचार र गतिविधि जनतामाझ पुर्याउन सामाजिक सञ्जालमा सक्रिय हुन नेता–कार्यकर्तालाई आग्रह गरे।


















