८ अषाढ, काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहलाई नियन्त्रणमा नराखे अमेरिकाले अझ शक्तिशाली सैन्य कारबाही गर्न सक्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानले आफ्नो प्रभावमा रहेको हिजबुल्लाहलाई क्षेत्रीय अस्थिरता बढाउनबाट नरोके गत साताको आक्रमणभन्दा पनि ठूलो अमेरिकी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका हुन्।
यो अभिव्यक्ति अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा जारी कूटनीतिक तथा शान्ति वार्ताकै क्रममा आएको हो। वार्ता चलिरहेका बेला ट्रम्पको यस्तो कडा सन्देश सार्वजनिक भएपछि मध्यपूर्वमा तनाव थप चर्किन सक्ने आकलन गरिएको छ।
इरानले लामो समयदेखि लेबनानको शक्तिशाली सशस्त्र समूह हिजबुल्लाहलाई राजनीतिक, आर्थिक तथा सैन्य समर्थन गर्दै आएको मानिन्छ। उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नेतृत्वको सरकारले हिजबुल्लाहलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि प्रमुख चुनौतीका रूपमा लिँदै आएको छ।
सम्झौताका प्रयासहरू जारी रहे पनि इजरायलले लेबनानमा आफ्ना सैन्य गतिविधि रोक्न नसकेको बताइएको छ। यसैबीच इरानले विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने होर्मुज जलडमरूमध्य (Strait of Hormuz) बन्द गर्न सक्ने संकेत दिएको समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।
विश्लेषकहरूका अनुसार ट्रम्पको पछिल्लो चेतावनीले इजरायलको सुरक्षाप्रति अमेरिकी समर्थन अझ स्पष्ट रूपमा देखाएको छ। उनीहरूका अनुसार इरान, हिजबुल्लाह र इजरायलबीचको तनाव थप बढे त्यसको असर मध्यपूर्वमा मात्र सीमित नरही विश्व ऊर्जा बजार, अन्तर्राष्ट्रिय व्यापार तथा वैश्विक सुरक्षामा समेत पर्न सक्छ।



















