८ अषाढ, काठमाडौं। यस वर्षको मनसुन प्रणाली नेपालका पूर्वी तथा मध्य भूभागमा फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको ‘मनसुन आगमन बुलेटिन–२’ अनुसार मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका अधिकांश स्थानमा प्रवेश गरिसकेको छ।
महाशाखाका अनुसार यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते (जुन १९) कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। त्यसपछि विस्तार हुँदै असार ८ गते (जुन २२) सम्म आइपुग्दा मनसुनको प्रभाव पूर्वी तथा मध्य नेपालका धेरै क्षेत्रमा देखिएको छ।
विभागले हाल मनसुन प्रणाली कमजोर अवस्थामा रहेको जनाएको छ। यही कारण देशका बाँकी भूभागमा मनसुन विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।
महाशाखाले मनसुनको गतिविधिलाई निरन्तर निगरानी गरिरहेको उल्लेख गर्दै मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि नियमित रूपमा जारी गरिने मौसम बुलेटिन तथा सूचनाहरू अनुसरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
मनसुन सक्रिय भएसँगै प्रभावित क्षेत्रमा वर्षा, चट्याङ, बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।



















