३१ जेठ, जनकपुरधाम। पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सेन्ट जेभियर्स स्कुलको एक भिडियो भाइरल भइरहेको छ। उक्त भिडियोमा एक विद्यार्थीले शिक्षिकामाथि दुर्व्यवहार गर्दै कुटपिट गरेको दृश्य देखिएको छ।
भिडियोमा पढाइका क्रममा शिक्षिकाले अनुशासनका लागि दण्ड दिएपछि विद्यार्थीले प्रतिकारस्वरूप शिक्षिकामाथि हातपात गरेको देखिन्छ। घटनाप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विद्यार्थीको व्यवहारको व्यापक आलोचना गरेका छन्।
यद्यपि, यो घटना करिब एक साताअघिको रहेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका प्रिन्सिपल भागवत साहले बिजी न्युजसँग कुरा गर्दै शिक्षिकामाथि दुर्व्यवहार गर्ने सम्बन्धित विद्यार्थीलाई विद्यालयबाट निष्कासन गरिसकिएको जानकारी दिए।
भिडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा आफू अनभिज्ञ रहेको बताउँदै प्रिन्सिपल साहले भिडियो बाहिर ल्याउने व्यक्तिविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिए।
घटनाले विद्यालयमा अनुशासन, शिक्षक–विद्यार्थी सम्बन्ध तथा सामाजिक सञ्जालमार्फत सामग्री प्रसारणको जिम्मेवारीबारे पुनः बहस सिर्जना गरेको छ।



















