१ अषाढ, वाशिङ्टन/तेहरान । अमेरिका र इरानबीच फेब्रुअरीदेखि जारी युद्ध अन्त्यतर्फ उन्मुख भएको छ। दुवै देश युद्ध अन्त्यका लागि प्रारम्भिक सहमतिमा पुगेका छन् भने आगामी शुक्रबार स्विट्जरल्याण्डमा औपचारिक सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जालमार्फत इरानसँग प्रारम्भिक सम्झौता भएको जानकारी दिएका छन्। इरानी अधिकारीहरूले पनि उक्त सहमतिलाई पुष्टि गरेका छन्। यद्यपि सम्झौताका विस्तृत सर्तहरू भने हालसम्म सार्वजनिक गरिएको छैन।
सम्झौताअनुसार विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याइने भएको छ। यो जलमार्ग खुल्ने खबरसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ ले लेबननसहित विभिन्न मोर्चामा सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने सहमति भएको बताएका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि सोमबार रातिदेखि युद्ध तथा सैन्य गतिविधि रोक्ने जनाएको छ।
यद्यपि अमेरिका–इरान वार्तामा प्रत्यक्ष सहभागी नभएको बताउँदै आएको इजरायल ले सम्झौताबारे औपचारिक प्रतिक्रिया दिएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्नयाहु र ट्रम्पबीच लेबननमा सैन्य कारबाही सीमित गर्ने विषयमा मतभेद रहेको बताइएको छ।
सम्झौतामा इरानमाथि लगाइएका प्रतिबन्ध हटाउने, रोक्का सम्पत्ति फुकुवा गर्ने तथा विवादास्पद आणविक कार्यक्रमको भविष्यबारे थप वार्ता गर्ने विषय पनि समेटिएको छ। इरानले आणविक हतियार निर्माणको उद्देश्य अस्वीकार गर्दै आएको छ भने अमेरिकाले उच्चस्तरको युरेनियम भण्डारण हटाउनुपर्ने अडान राखेको छ।
फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्वमा हजारौँ मानिसको मृत्यु भएको बताइएको छ, जसमा अधिकांश इरान र लेबननका सर्वसाधारण नागरिक रहेका छन्। युद्धका कारण विश्व ऊर्जा आपूर्ति प्रभावित हुनुका साथै तेलको मूल्यमा तीव्र उतारचढाव आएको थियो।
यदि शुक्रबार हुने भनिएको सम्झौतामा हस्ताक्षर भएमा यसलाई मध्यपूर्व क्षेत्रमा पछिल्ला वर्षहरूकै महत्वपूर्ण कूटनीतिक उपलब्धिमध्ये एकका रूपमा हेरिने छ।



















