पाँच वर्षभित्र युवाको विदेशिने बाध्यता अन्त्य हुन्छ : अर्थमन्त्री वाग्ले

३१ जेठ, काठमाडौ  । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी पाँच वर्षभित्र नेपाली युवाहरूले आफ्नो भविष्य निर्माणका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य हुने दाबी गरेका छन्।
राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन–२०८३ लाई सम्बोधन गर्दै उनले सरकारले युवालाई स्वदेशमै रोजगारी, शिक्षा र उद्यमशीलताका पर्याप्त अवसर सिर्जना गर्ने नीति लिएको बताएका हुन्।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत युवा उद्यमीलाई कर सहुलियत, व्यवसायीका बक्यौता समस्यामा राहत, सरकारी सेवाको डिजिटलाइजेसन तथा सुशासन प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरे।
उनले युवाको उद्यमशील सोचलाई प्रोत्साहन गर्ने उद्देश्यसहित बजेट निर्माण गरिएको दाबी गर्दै स्वदेशमै अवसर सिर्जना गरेर प्रतिभा पलायन रोक्ने सरकारको लक्ष्य रहेको बताए।
यस्तै, वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई करको झन्झटबाट राहत दिने व्यवस्था गरिएको जानकारी दिँदै उनले युवामैत्री आर्थिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले युवाको ऊर्जा, सीप र नवप्रवर्तनलाई राष्ट्रिय विकाससँग जोड्दै उद्यमशीलता प्रवर्द्धनमार्फत समृद्ध अर्थतन्त्र निर्माण गर्न सरकार केन्द्रित रहेको बताए।

  • सम्बन्धित समाचारहरु

    सेन्ट जेभियर्सको घटना सार्वजनिक: शिक्षिकालाई कुट्ने विद्यार्थी निष्कासित

    Read more

    कांग्रेसमा निरंकुश प्रवृत्ति देखिन थाल्यो : डा. शेखर कोइराला

    Read more