३० बैशाख , काठमाडौ । उत्तर कोरियाले आफ्नो संविधान संशोधन गर्दै सर्वोच्च नेता किम जोङ्ग उन माथि कुनै पनि प्रकारको आक्रमण भए स्वतः आणविक हमला गर्ने व्यवस्था समेटिएको नयाँ सुरक्षा नीति लागू गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फक्स न्युजका अनुसार नेतृत्व सुरक्षालाई केन्द्रमा राख्दै प्योङयाङले यस्तो कडा नीति अवलम्बन गरेको हो।
विश्व राजनीतिमा बढ्दो तनाव, क्षेत्रीय सुरक्षा चुनौती तथा इरानी सर्वोच्च नेता अलि खामिनेयी सँग सम्बन्धित घटनाक्रमपछि उत्तर कोरियाले आफ्नो रक्षा रणनीतिलाई अझ आक्रामक र सशक्त बनाउने संकेत दिएको विश्लेषण गरिएको छ। नयाँ व्यवस्थाअनुसार देशको नेतृत्वमाथि कुनै पनि सैन्य आक्रमण वा हत्या प्रयास भए त्यसको प्रतिकार परमाणु हतियारमार्फत गरिने उल्लेख गरिएको छ।
उत्तर कोरियाको यो कदमले अन्तर्राष्ट्रिय समुदायमा थप चिन्ता बढाएको छ। विश्लेषकहरूले यस्तो नीति क्षेत्रीय तथा विश्व सुरक्षाका लागि चुनौतीपूर्ण बन्न सक्ने बताएका छन्। विशेषगरी कोरियाली प्रायद्वीपमा लामो समयदेखि जारी तनावका बीच आएको यो निर्णयले अमेरिका, दक्षिण कोरिया र उसका सहयोगी राष्ट्रहरूको सुरक्षा रणनीतिमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
उत्तर कोरियाले यसअघि पनि आफ्नो आणविक कार्यक्रमलाई आत्मरक्षाका लागि आवश्यक भएको दाबी गर्दै आएको थियो। पछिल्लो संवैधानिक संशोधनले भने परमाणु प्रतिकारको नीतिलाई अझ औपचारिक र कडा बनाएको देखिएको छ।



















