३० बैशाख ,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिन लागेका हुन्।
यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री शाहले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू पनि बैठकमा पेश गरिनेछन्। त्यसपछि उक्त प्रस्तावमाथि थप छलफल अघि बढाइने जनाइएको छ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पछिल्ला दिनमा संसद्मा तीखा टिप्पणी र आलोचना हुँदै आएको छ। विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैली, संसदीय मर्यादा, सीमा सुरक्षा, सुशासन तथा आर्थिक नीतिका विषयमा प्रश्न उठाएका छन्।



















