३० बैशाख , काठमाडौं । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ।
हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेससहित अन्य हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। केही उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने जनाइएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई जिल्लाका केही स्थानमा हुरीबतास, असिना, मेघगर्जन र चट्याङको जोखिम रहेको मौसमविद्ले बताएका छन्।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। रातिको समयमा पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



















