१९ चैत, काठमाडौ ।— काठमाडौं जिल्ला अदालत ले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको मुद्दामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहितका प्रतिवादीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।
माननीय जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले अनुसन्धानका लागि म्याद थप गर्न आदेश दिएको हो। अदालतको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा (६) बमोजिम मिति २०८२ चैत ११ गतेदेखि लागू हुने गरी दुई दिनको म्याद थप गरिएको छ।
आदेशमा अनुसन्धानको क्रममा पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिएको उल्लेख गरिएको छ भने ओलीको बयान लिने प्रक्रिया अझै बाँकी रहेको जनाइएको छ। अनुसन्धानलाई निरन्तरता दिन र आवश्यक प्रमाण संकलनका लागि हिरासतमा राख्नुपर्ने मागअनुसार अदालतले म्याद थप गरेको हो।
त्यस्तै, ओली स्वास्थ्य उपचारका लागि अस्पतालमा रहेको र स्वास्थ्य अवस्था जटिल रहेको विषयलाई पनि अदालतले ध्यान दिएको छ। भिडियो माध्यमबाट आफ्नो धारणा प्रस्तुत गरिसकेकाले उपचारमा असर नपर्ने गरी अनुसन्धान अगाडि बढाउन आदेश दिइएको उल्लेख छ।



















