१९ चैत, काठमाडौ । — नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् चर्किएको छ। पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधि ले विशेष महाधिवेशनलाई अवैध ठहर गर्दै आफूहरूले त्यसलाई नमान्ने स्पष्ट पारेका छन्।
बुधबार पूर्णबहादुर खड्का र डॉ. शेखर कोइराला पक्षधरबीच भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै निधिले आफूहरू नै वैध कांग्रेस भएको दाबी गरे। उनले निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई दिएको मान्यता गैरकानुनी भएको आरोप लगाउँदै त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए।
निधिका अनुसार ‘कार्यवाहक सभापति’को रूपमा खड्काको अध्यक्षतामा दुई दिनसम्म केन्द्रीय समिति बैठकसमेत बसेको छ। उनले २२ गते सर्वोच्च अदालतमा पेसी तोकिएको उल्लेख गर्दै उक्त महाधिवेशनलाई आफूहरूले नमान्ने र त्यसमा सहभागीसमेत नभएको स्पष्ट पारे।
उनले बैठकमा मुद्दाको सम्पूर्ण तयारीका विषयमा छलफल भएको र कानुनी सल्लाहकार तथा अधिवक्ताहरू बहसका लागि तयार रहेको बताए। “हामी नै असली कांग्रेस हौं, हामी जहाँ छौं, त्यही वैध कांग्रेस हो,” भन्दै निधिले आफ्नो समूहको वैधता पुनः दोहोर्याए।
यस्तै बैठकमा हालै सम्पन्न निर्वाचनबारे पनि समीक्षा गरिएको उनले जानकारी दिए। निर्धारित समयभन्दा अघि आकस्मिक रूपमा निर्वाचन भएको र त्यसको परिणाम अप्रत्याशित आएको उनको भनाइ छ। संविधानको रक्षाका लागि आफूहरूले निर्वाचनमा सहभागिता जनाएको उनले बताए।
देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको उल्लेख गर्दै निधिले लोकतान्त्रिक प्रणालीलाई अझ सशक्त बनाउने दिशामा अघि बढ्ने निष्कर्ष निकालिएको बताए। उनले त्यसका लागि पार्टीभित्र व्यापक एकताको आवश्यकता औंल्याउँदै देशभरका नेता–कार्यकर्तासँग संवादलाई तीव्र बनाइने बताए।
पार्टी एकताका लागि विशेष महाधिवेशन पक्षधर पनि लचक हुनुपर्ने भन्दै उनले सबै पक्षबीच सहमति र सहकार्य आवश्यक रहेकोमा जोड दिए।



















