२५ माघ , काठमाडौ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा नेपालले अन्तिम ओभरसम्म संघर्ष गरे पनि लक्ष्य भेट्टाउन सकेन।
टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक पर्दा खेल अत्यन्तै रोमाञ्चक बनेको थियो, तर सेट ब्याटर लोकेश बम क्रिजमा रहे पनि नेपालले जित निकाल्न सकेन।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुआत गरे। भुर्तेलले १७ बलमा २९ रन बनाउँदै ४ चौका र १ छक्का प्रहार गरे। तर चौथो ओभरमा आसिफ शेख र छैटौं ओभरमा भुर्तेल आउट भएपछि नेपाल दबाबमा परेको थियो।
त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाले। दुवैले महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई लक्ष्यतर्फ अघि बढाए। दीपेन्द्र ४४ रनमा आउट भए। उनले एक छक्का र चार चौका प्रहार गर्दै टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बन्न सफल भए। कप्तान रोहितले ३९ रन (२ चौका, १ छक्का) जोडे भने लोकेश बम ३९ रनमा अविजित रहे। आरिफ शेखले १० रन बनाए।
बलिङतर्फ इङ्ल्यान्डका लियम डसनले २ विकेट लिए। लुक वुड, जोफ्रा आर्चर, विल ज्याक्स र सैम करनले समान एक–एक विकेट लिए।
यसअघि इङ्ल्यान्डको सुरुआत भने कमजोर रह्यो। दोस्रो ओभरमा फिल साल्ट ५ रनमै आउट भए। त्यसपछि जोस बटलरले १७ बलमा २६ रन बनाए पनि पाँचौं ओभरमा आउट भए। ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। बेथेलले ५५ रन (४ चौका, ४ छक्का) बनाए भने ब्रुकले ५३ रन (४ चौका, ३ छक्का) जोडे। विल ज्याक्स ३९ रनमा अविजित रहे।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट लिए।



















