पुस २३, काठमाडौ । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। बुधबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशका लागि गरी ९ जना उम्मेदवार चयन गरेको हो।
कांग्रेस नेता मीनबहादुर विश्वकर्माका अनुसार बैठकले प्रदेशगत समावेशी आधारमा उम्मेदवार तय गरेको छ। कांग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट धर्मेन्द्र पासवान(दलित) र रञ्जित कर्ण (अपाङ्गता/अल्पसंख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला) लाई उम्मेदवार बनाएको छ।
यस्तै, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली (अपाङ्गता/अल्पसंख्यक) र चन्द्रबहादुर के.सी., कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट रमेशबहादुर खाती उम्मेदवार चयन भएका छन्।
कांग्रेसले संविधानअनुसार महिला, दलित र अल्पसंख्यक समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी उम्मेदवार छनोट गरिएको जनाएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि आजै उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।

















