सरकार–संयुक्त हिन्दू मोर्चाबीच पुनः मौखिक सहमति, कार्यान्वयनप्रति हिन्दू समाजमा आशंका कायम

१७ साउन, जनकपुरधाम। — संयुक्त हिन्दू मोर्चा र सरकारबीच आइतबार जनकपुरस्थित यात्री निवासमा पुनः वार्ता सम्पन्न भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तामा यसअघि भएका १३ बुँदे सहमतिलाई थप स्पष्ट पार्दै केही बुँदा थपेर १८ बुँदे बनाइएको बताइएको छ।
वार्ताका क्रममा संयुक्त हिन्दू मोर्चाले आफ्नो मागपत्र गृहमन्त्री गुरुङलाई औपचारिक रूपमा बुझाएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबार राति भएको १३ बुँदे सहमतिमा रहेका केही अस्पष्ट विषय, विशेषगरी लेटरप्याडमा हस्ताक्षर लगायतका विषयमा स्पष्टता ल्याउने उद्देश्यले पुनः छलफल गरिएको हो।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्रीले मिडियामा आएका विभिन्न विषयमा समेत स्पष्ट पारेपछि मोर्चा सन्तुष्ट भएको र आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको जानकारी दिए।
यस्तै, हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले वार्तापछि केही बुँदाहरू सच्याइएको र सरकारका तर्फबाट मागहरू सम्बोधन गर्ने आश्वासन प्राप्त भएको बताए। उनका अनुसार गृहमन्त्रीले भविष्यमा आन्दोलनका क्रममा गोली नचलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि शनिबार राति गृहमन्त्रीलाई बुझाइएको १३ बुँदे मागपत्रमा पहिलो बुँदामा नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने तथा अन्तिम बुँदामा आन्दोलनका कार्यक्रम फिर्ता लिने विषय समावेश गरिएको थियो।
यद्यपि, वार्तापछि भएको मौखिक सहमतिप्रति हिन्दू समाजभित्र भने मिश्रित प्रतिक्रिया देखिएको छ। केही सहभागीहरूले विगतमा मधेसी आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा सरकारसँग भएका लिखित सहमतिसमेत पूर्ण रूपमा कार्यान्वयन नभएको उदाहरण दिँदै यसपटकको मौखिक सहमति व्यवहारमा कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।
सरकारले भने सहमतिका बुँदाहरू कार्यान्वयनतर्फ आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    मधेश: अबको बाटो’ अन्तरक्रियामा आन्दोलनका उपलब्धि र चुनौतीमाथि बहस

    Read more

    सम्झौताको हल्ला अस्वीकार गर्दै राष्ट्रिय एकता दल, अध्यक्ष विनय यादवको अनशन जारी

    Read more