माग सम्बोधन नभए निर्णायक आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

१७ साउन, काठमाडौ । — मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। आफ्ना मागहरूको राजनीतिक सम्बोधन नभए आन्दोलनलाई अझ निर्णायक बनाइने चेतावनी उनले दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले वर्तमान लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएको र नागरिकका मौलिक अधिकारसमेत सङ्कुचित भएको आरोप लगाए। उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ‘चार जात छत्तीस वर्णको फूलबारी’को अवधारणालाई स्मरण गर्दै नेपाल सबै जाति, समुदाय र वर्गको साझा मुलुक भएको बताए।
प्रसाईंले सरकार र सत्तारूढ पक्षले आफ्ना समर्थकमार्फत कृत्रिम सहमति र राजनीतिक प्रपञ्च सिर्जना गरिरहेको आरोपसमेत लगाए। आफ्नो आन्दोलन कुनै धर्म, जाति वा समुदायविरुद्ध नभई वर्तमान राज्य व्यवस्थाको परिवर्तनका लागि केन्द्रित रहेको उनको भनाइ थियो।
उनले वैदिक सनातन हिन्दु अधिराज्य तथा राजसंस्थाको पुनर्बहाली आफ्नो आन्दोलनको मुख्य एजेन्डा रहेको दोहोर्‍याउँदै संविधान संशोधन, उच्चस्तरीय कार्यदल गठन तथा आफ्ना मागहरूको राजनीतिक सम्बोधन हुनुपर्ने बताए। यी विषयमा पहल नभए आन्दोलनलाई थप सशक्त र निर्णायक बनाइने चेतावनी पनि उनले दिए।
पत्रकार सम्मेलनमा प्रसाईंले नेपालका बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण नागरिकलाई देशको राष्ट्रिय अस्तित्व, सांस्कृतिक पहिचान र आफूले उठाएका मुद्दाका पक्षमा एकताबद्ध हुन आग्रह गरे।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more

    जनकपुरधाममा संविधान संशोधन र हिन्दूराष्ट्रको माग गर्दै राष्ट्रिय एकता दलको प्रदर्शन

    Read more