संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

१६ साउन, जनकपुरधाम।  संयुक्त हिन्दु मोर्चाले नेपाल सरकारसमक्ष १३ बुँदे मागपत्र पेश गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, कानुनी शासन तथा हिन्दु राष्ट्रसम्बन्धी विषयमा आवश्यक निर्णय गर्न आग्रह गरेको छ।
गृहमन्त्री सुधन गुरुङलाई सम्बोधन गर्दै धनुषा जिल्ला प्रशासन कार्यालयमार्फत बुझाइएको मागपत्रमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा सर्वदलीय छलफल अघि बढाउन, धार्मिक कार्यक्रमका क्रममा हातहतियार प्रदर्शनमा रोक लगाउन तथा उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गर्न माग गरिएको छ।
त्यस्तै मठ, मन्दिर, मस्जिद, मदरसा, गुम्बा र चर्चलगायत धार्मिक स्थलमा जडान गरिएका बाहिरी ध्वनि विस्तारक (लाउडस्पिकर) को प्रयोगलाई नियमन गर्न, धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिहरूको अभिलेखीकरण तथा आवश्यक निगरानी गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
मागपत्रमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक, साम्प्रदायिक तथा जातीय हिंसा भड्काउने गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न, सुनसरीको देवानगञ्ज घटनापछि आन्दोलनका क्रममा पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गरी आवश्यक निर्णय लिन तथा घाइतेहरूको उपचारको व्यवस्था गर्न पनि माग गरिएको छ।
यस्तै, आन्दोलनमा सहभागी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न, २०६३ सालदेखि हालसम्म वितरण गरिएका नेपाली नागरिकताको छानबिन गर्न, मदरसा, मस्जिद तथा अन्य धार्मिक संस्थामा आउने विभिन्न स्रोतका आर्थिक सहयोग (फन्डिङ) को अनुसन्धान गर्न र आवश्यक नियमन गर्न मागपत्रमा उल्लेख गरिएको छ।
१२ वर्षीय आनन्द दासमाथि भएको घटनामा संलग्नलाई कानुनी कारबाही गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा संयुक्त हिन्दु मोर्चाले सञ्चालन गर्दै आएको आन्दोलनका सबै कार्यक्रम खारेज गरी तत्काल सामान्य अवस्था कायम गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
संयुक्त हिन्दु मोर्चाका विभिन्न पदाधिकारी तथा प्रतिनिधिहरूको हस्ताक्षरसहित उक्त मागपत्र जिल्ला प्रशासन कार्यालय धनुषामार्फत नेपाल सरकारलाई बुझाइएको  छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more

    हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै श्री राम युवा कमिटीद्वारा पीडितलाई न्यायको माग

    Read more