मलङ्गवामा शान्तिपूर्ण प्रदर्शनकारी पक्राउको विरोध, हिन्दूवादी अभियान्ताको अविलम्ब रिहाइको माग

पुस २३, मलङ्गवा । वीरगञ्जमा केही दिनअघि “हिन्दू भगाऊ, देश बचाऊ” जस्तो घृणात्मक नारा लगाइएको घटनाको विरोधमा मलङ्गवामा शान्तिपूर्ण प्रदर्शन गरिरहेका हिन्दूवादी अभियान्ताहरू पक्राउ परेको घटनाप्रति कडा आपत्ति जनाइएको छ। कृष्ण यादव, रामानन्द साह, अजय यादव, रुपेश यादवलगायतलाई प्रहरीले पक्राउ गरेपछि विभिन्न हिन्दू संघ–संस्थाहरूले यसलाई अन्यायपूर्ण र दमनकारी कदमको संज्ञा दिएका छन्।
हिन्दू समाजको अगुवाइमा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शनको अधिकार प्रयोग गर्दै मलङ्गवामा विरोध कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा अभियान्ताहरूलाई पक्राउ गरिएको भन्दै विरोध जनाइएको हो। जारी गरिएको विज्ञप्तिमा घृणात्मक, साम्प्रदायिक तथा राष्ट्रविरोधी नारा लगाउनेहरूमाथि कारबाही नगरी त्यसको विरोध गर्ने नागरिकलाई पक्राउ गर्नु राज्य संयन्त्रको असफलता र पक्षपाती व्यवहारको उदाहरण भएको आरोप लगाइएको छ।
शान्तिपूर्ण आन्दोलनलाई अपराधीकरण गर्ने प्रवृत्ति लोकतन्त्र, संविधान र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको उल्लेख छ। साथै, पक्राउ परेका अभियान्ताहरू कुनै अवाञ्छित गतिविधिमा संलग्न नभई धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको दाबी गरिएको छ।
हिन्दूवादी संघ–संस्थाहरूले कृष्ण यादव, रामानन्द साह, अजय यादव, रुपेश यादवलगायत सम्पूर्ण पक्राउ परेकाहरूलाई अविलम्ब बिना सर्त रिहा गर्न प्रशासनसँग माग गरेका छन्। माग पूरा नभए आन्दोलनलाई देशव्यापी रूपमा थप सशक्त बनाइने चेतावनी दिँदै, त्यसबाट उत्पन्न हुने अवस्थाको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more