पुस २०, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा थप एकीकरण भएको छ। खगेगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ औपचारिक रूपमा रास्वपामा समाहित भएको हो।
आज बसेको रास्वपाको केन्द्रीय कमिटी बैठकले एकीकरणपछि खगेन्द्र सुनार, सागर ढकाल र केपी खनालसहित ७ जनालाई केन्द्रीय सदस्यका रूपमा शपथ गराएको छ। पार्टीका अनुसार नवआगन्तुक नेताहरूलाई संगठन सुदृढीकरण र राजनीतिक गतिविधि विस्तारका लागि जिम्मेवारीसहित केन्द्रीय तहमा समावेश गरिएको हो।
त्यसैगरी, बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय सदस्यमा औपचारिक रूपमा अनुमोदन गरेको छ। यसअघि विभिन्न प्रक्रियामार्फत प्रस्तावित उनीहरूको सदस्यता आजको बैठकबाट अन्तिम रूप दिइएको पार्टीले जनाएको छ।
रास्वपाले पछिल्लो एकीकरण र केन्द्रीय संरचनाको विस्तारले पार्टीलाई वैचारिक, संगठनात्मक तथा राजनीतिक रूपमा थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। पार्टी नेतृत्वले आगामी दिनमा देशव्यापी संगठन विस्तार र वैकल्पिक राजनीतिको एजेन्डालाई अझ प्रभावकारी ढंगले अघि बढाइने जनाएको छ।
















