भदौ २६, काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद्लाई जनताको सर्वोच्चताको प्रतीक बताउँदै यसलाई कुनै पनि हालतमा विघटन गर्न नहुने स्पष्ट धारणा सार्वजनिक गरेकी छन्।
बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले संसद् विघटन गर्ने प्रयास जनताको अधिकारमाथिको ठूलो प्रहार हुने बताइन्। गौतमले भनिन्, “जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो। यो विघटन गर्नु भनेको जनताको सर्वोच्चता संकटमा पार्नु हो।”
उनका अनुसार राजनीतिक अस्थिरता समाधान गर्ने उपाय संसद् विघटन होइन, बरु अन्तरिम नागरिक सरकार गठन हुन सक्ने हो। उनले जेनजीसहितको सहभागितामा यस्तो सरकार बनाउन सकिने प्रस्ट पारेकी छन्।
गौतमले थप भनिन्, “अन्तरिम सरकारले चुनाव घोषणा गर्यो भने अहिले जेनजीहरू जसरी सक्रिय हुनुभएको छ, चुनावमार्फत तपाईँहरूले चाहेको नेतृत्व ल्याउन सक्नुहुन्छ। तर संसद्लाई कायम राख्नै पर्छ।”
सांसद गौतमले कुनै पनि स्वार्थप्रेरित निर्णय अस्वीकार्य हुने चेतावनी दिँदै जेनजी आन्दोलनलाई देखाएर व्यक्तिगत वा राजनीतिक स्वार्थ पूरा गर्ने प्रयास विफल हुने बताइन्।यसअघि पनि सांसद गौतमले संसद् र लोकतान्त्रिक संरचना मजबुत बनाउँदै जाने पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छन्।















