श्रावण २६, सिरहा, लहान — सिरहा जिल्लाको लहान नगरपालिका–२३, गाढा गाउँका ३५ वर्षीय हरि मोहन मुखियाको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज (KMC) मा साउन २१ गते, बुधबार बिहान करिब ७ बजे निधन भएको थियो। विगत दुई महिनादेखि उपचाररत मुखियाको आर्थिक अवस्था कमजोर रहेकाले परिवारले ३ कठा खेत बिक्री गरी र गाउँलेहरूसँग ऋण लिएर अस्पताललाई करिब ११ लाख रुपैयाँ बुझाइसकेका थिए।
तर, मृत्युपछि अस्पताल प्रशासनले थप २ लाख रुपैयाँ नतिरी शव नदिने अडान लिएपछि परिवार गम्भीर संकटमा पर्यो। मृतककी श्रीमतीले सम्पत्ति बिक्री गरेर अस्पताललाई बुझाइसकेकी भए पनि प्रशासनले शव हस्तान्तरण गर्न अस्वीकार गर्यो, जसका कारण शव अस्पतालमै बन्धक रह्यो।
यसैबीच, काठमाडौंमा बसोबास गर्ने मधेसका केही युवाहरू — शिव यादव, बबलु गुप्ता, रविराज साह, कपिल देव साह लगायत — ले घटनाबारे थाहा पाएपछि तत्काल पहल थाले। उनीहरूले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग अभियान सुरु गरे र विभिन्न राजनीतिक व्यक्तित्व तथा सांसदहरूसँग पनि सम्पर्क गरे। तर, सांसदहरूले उल्टै बाँकी रकम तिर्नैपर्ने दबाब दिएको उनीहरूको आरोप छ।
अन्ततः, देश–विदेशका दाताहरूको सहयोग र युवाहरूको निरन्तर प्रयासपछि अस्पतालले दबाबमा आएर शव निःशुल्क रूपमा छुटाउन अनुमति दियो। शव ल्याउन एम्बुलेन्सको खर्चसमेत नभएका कारण ती युवाहरूले नै व्यवस्था गरेर लहानस्थित मृतकको घर पुर्याए र हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरियो।
बिकेको खेत फिर्ता, ऋण तिरियो, रकम श्रीमतीलाई हस्तान्तरण
मुखियाको उपचारका क्रममा बिक्री गरिएको ३ कठा खेत ४ लाख १० हजार रुपैयाँमा पुनः खरिद गरी मृतककी श्रीमतीको जिम्मा लगाइयो। त्यस्तै, लिएको १ लाख ८० हजार रुपैयाँ ऋण पनि तिरियो। बाँकी २१ हजार २६५ रुपैयाँ समेत श्रीमतीलाई हस्तान्तरण गरियो।
कुल सहयोग र समाजमा सकारात्मक सन्देश
कुल ६ लाख ११ हजार २६५ रुपैयाँ बराबरको सहयोग रकम मृतकको घर पुगेर व्यवस्थित ढंगले खर्च गरिएपछि गाउँमा सहयोग र एकताको भावना बलियो बनेको छ। युवाहरूले अझै पनि थप सहयोग संकलन भइरहेको बताएका छन्।
गाउँलेहरूको भनाइमा, “यस्ता युवाहरूको पहलले समाजमा सकारात्मक सन्देश दिएको छ। दुखमा परेका परिवारका लागि सहानुभूति मात्र होइन, व्यवहारिक सहयोग पनि आवश्यक पर्छ भन्ने कुरा यस घटनाले देखाएको छ।”
















