१५ कात्तिक , काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक ठूलो सङ्कटतर्फ उन्मुख भइरहेको संकेत देखिएको भन्दै सबै पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन्।
देशमा बढ्दो भूराजनीतिक चलखेल, सत्तारूढ तथा प्रतिपक्षी दलभित्र चर्किँदो आन्तरिक संघर्ष र राज्यका प्रमुख अंगहरू न्यायालय, प्रशासन तथा प्रहरीमा देखिएको अस्तव्यस्तताले मुलुकलाई संकटतर्फ धकेलिरहेको उनको भनाइ छ।
भट्टराईले अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, युवाहरूको बढ्दो विदेश पलायन तथा सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा चुलिँदो निराशालाई पनि संकटका संकेतका रूपमा औँल्याएका छन्।
उनले अब कुनै पनि बहानामा देशले थप अस्थिरता र उथलपुथल थेग्न नसक्ने उल्लेख गर्दै सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
“सक्छौँ, सकारात्मक योगदान गरौँ । सक्दैनौँ, नकारात्मक काम नगरौँ,” भट्टराईले आफ्नो सन्देशमा भनेका छन्।
उनले मुलुकको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै राजनीतिक दल, राज्यका निकाय र नागरिक समाजलगायत सबै पक्षलाई गम्भीर हुन आह्वान गरेका छन्।

















