१५ असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय महेश यादवको सर्पदंशपछि उपचारका क्रममा मृत्यु भएको छ। परिवारका अनुसार समयमै आवश्यक उपचार र आईसीयू/भेन्टिलेटरको व्यवस्था हुन नसक्दा उनको ज्यान गएको हो।
रामकिशोर यादवका एक्लो छोरा महेशलाई मंगलबार राति करिब साढे १२ बजे विषालु सर्पले टोकेको थियो। सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि मधेश प्रदेशकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको परिवारले जनाएको छ।
अस्पतालमा उपचार सुरु गरिए पनि उनको स्वास्थ्य अवस्था क्रमशः गम्भीर बन्दै गएको थियो। परिवारका अनुसार राति करिब २ बजे चिकित्सकले महेशलाई आईसीयू वा भेन्टिलेटरमा राखेर थप उपचार गर्नुपर्ने बताएका थिए। तर अस्पतालमा आईसीयू तथा भेन्टिलेटर खाली नभएको भन्दै उनलाई अन्यत्र रेफर गरिएको परिवारको भनाइ छ।
त्यसपछि थप उपचारका लागि महेशलाई सर्पदंश उपचार केन्द्र लगिएको थियो। तर त्यहाँ पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको परिवारले जनाएको छ।
मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी र सरकारी अस्पतालको स्तरोन्नतिको दाबी गर्दै आए पनि प्रदेशको राजधानी जनकपुरधाममै सर्पदंशका बिरामीका लागि आवश्यक आकस्मिक उपचार तथा आईसीयू–भेन्टिलेटरको अभाव देखिनु गम्भीर प्रश्न बनेको छ।
विशेषगरी विषालु सर्पदंशमा उपचारका लागि समय निकै महत्वपूर्ण हुने भएकाले अस्पतालमा आवश्यक जनशक्ति, एन्टिस्नेक भेनम, आईसीयू तथा भेन्टिलेटरलगायतका सुविधा पर्याप्त र तत्काल उपलब्ध हुनुपर्ने हुन्छ।
महेश यादवको मृत्युको घटनाले प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक उपचार क्षमता, आईसीयू तथा भेन्टिलेटरको उपलब्धता र सर्पदंशका बिरामीको उपचार व्यवस्थामाथि प्रश्न उठाएको छ। घटनाबारे अस्पताल प्रशासन र मधेश प्रदेश सरकारको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।
स्थानीयवासीले सरकारी अस्पतालमै आवश्यक उपचार नपाएर बिरामीलाई अन्यत्र लैजानुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकारले तत्काल स्वास्थ्य सेवाको क्षमता विस्तार गर्नुपर्ने माग गरेका छन्।




















