१५ असोज, काठमाडौ । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा को–पाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरी विमानको नियन्त्रणमा हस्तक्षेप गर्न खोजेको घटना सार्वजनिक भएको छ।
घटना फ्लाईदुबईको FZ1073 उडानमा भएको हो। उक्त विमान बोइङ ७३७ म्याक्स ८ रहेको र घटना हुँदा विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेको बताइएको छ।
रिपोर्टअनुसार ककपिटमा भएको घटनापछि विमान तीव्र रूपमा तल झरेको थियो। करिब एक मिनेटभन्दा कम समयमा विमानको उचाइ १४ हजार फिटभन्दा बढी घटेको बताइएको छ।
घटनाका क्रममा विमानबाट ७५०० इमर्जेन्सी कोड समेत पठाइएको थियो। उड्डयन क्षेत्रमा ७५०० कोड विमानमा गैरकानुनी हस्तक्षेप वा सम्भावित अपहरणको संकेतका रूपमा प्रयोग गरिन्छ।
घटनापछि विमानलाई साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गराइएको थियो। आरोपी को–पाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएका छन्।
को हुन् ओमानी को–पाइलट?
हालसम्म आरोपी को–पाइलटको नाम सार्वजनिक गरिएको छैन। इजरायली अधिकारीहरूका अनुसार उनी ओमानका नागरिक हुन् र फ्लाईदुबईमा फर्स्ट अफिसर (को–पाइलट) का रूपमा कार्यरत थिए।
रिपोर्टहरूमा उनी करिब आठ महिनाअघि फ्लाईदुबईमा आबद्ध भएको उल्लेख गरिएको छ। साथै, उनी दिनमा पटक–पटक नमाज पढ्ने र महिलासँग हात मिलाउन अस्वीकार गर्ने गरेको दाबीसमेत गरिएको छ।
घटनामा विमानका क्याप्टेन स्मित मच्छारमाथि चक्कुबाट आक्रमण भएको बताइएको छ। घटनाको थप अनुसन्धान साउदी अधिकारीहरूले गरिरहेका छन्।




















