१५ असोज, जनकपुरधाम। धनुषामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९, औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार बिहीबार बिहान करिब पौने १० बजे छिमेकीको घरमा विद्युत् बिग्रिएपछि मर्मत गरिदिन आग्रह गरिएपछि साह विद्युत्को पोलमा चढेका थिए।
मर्मतका क्रममा अचानक करेन्ट लाग्दा साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी साहको शव पोस्टमार्टमका लागि बिहीबार दिउँसो प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको डीएसपी खनालले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।




















