शिक्षकलाई समयमै तलब दिन सरकारको ध्यानाकर्षण : सांसद शिव यादव

१५ असोज, काठमाडौ । प्रतिनिधि सभा सदस्य शिव यादवले शिक्षकको मनोबल उच्च नभएसम्म शिक्षा क्षेत्रमा अपेक्षित सुधार सम्भव नहुने बताएका छन्।

मधेशलगायत विभिन्न स्थानीय तहमा राजनीतिक तथा प्रशासनिक विवादका कारण शिक्षकहरूले समयमै तलब पाउन नसकेको उल्लेख गर्दै सांसद यादवले शिक्षकलाई महिनौँसम्म तलबको प्रतीक्षामा राख्ने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले सांसद, मन्त्री तथा निजामती कर्मचारीले नियमित रूपमा तलब पाउने तर कक्षाकोठामा विद्यार्थीको भविष्य निर्माण गरिरहेका शिक्षकहरूले भने महिनौँसम्म पारिश्रमिकका लागि प्रतीक्षा गर्नुपर्ने अवस्था न्यायोचित नभएको बताएका छन्।

“जबसम्म हामी माटोमा मिलेको शिक्षण पेसाको प्रतिष्ठा र शिक्षकहरूको मनोबल उठाउन सक्दैनौँ, तबसम्म शिक्षा क्षेत्रमा सुधार सम्भव छैन,” यादवले भनेका छन्।

शिक्षकलाई नै निरुत्साहित र पीडित बनाएर शिक्षा क्षेत्रमा सुधार ल्याउन नसकिने उनको भनाइ छ। उनले संघदेखि स्थानीय तहसम्म बजेट निकासा तथा भुक्तानी प्रक्रियामा देखिएका झन्झट अन्त्य गरी प्रत्येक महिना शिक्षकले समयमै तलब पाउने सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेका छन्।

यादवले शिक्षकको नियमित पारिश्रमिकलाई शिक्षा सुधारको आधारभूत पक्षका रूपमा लिएर आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more