भारतबाट मूल्य बढेर आए पनि पेट्रोल–डिजेलको भाउ यथावत्

१४ असोज, काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढाउने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर करिब २० रुपैयाँले वृद्धि भएर आए पनि आउँदै गरेका चाडपर्व, हालैको बाढीपहिरोको असर तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले साबिककै मूल्य कायम राख्ने निर्णय गरेको हो।

निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको जानकारी दिएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहने निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको अवस्थामा नेपाली बजारमा भने बिक्री मूल्य नबढाउने निर्णयले निगममाथि थप आर्थिक भार पर्ने भएको छ। निगमका अनुसार हालको बिक्री मूल्य यथावत् राख्दा आगामी १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

चाडपर्वको समयमा उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरिएको निगमले जनाएको छ।

यस निर्णयसँगै हाल बजारमा कायम पेट्रोलियम पदार्थको मूल्य तत्कालका लागि यथावत् रहने भएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more