१४ असोज , जनकपुरधाम। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषा क्षेत्र नं. ३(२) बाट प्रदेश प्रतिनिधि पदमा युवा नेता दीपक कुमार ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। जनकपुरधाम उपमहानगरपालिका–८ का स्थायी बासिन्दा ठाकुर छोटो समयमै पार्टीभित्र आफ्नो सक्रियता तथा सामाजिक गतिविधिमार्फत परिचित हुँदै आएका छन्।
इन्जिनियरिङ अध्ययन गरेका ठाकुर हाल अहिले जनकपुरधाममा विद्यालय सञ्चालन गर्दै शिक्षा क्षेत्रमा समेत सक्रिय छन्। शिक्षण–शिक्षा व्यवस्थापनको अनुभवसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका उनी युवा पुस्तामाझ परिचित छन्।
नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका ठाकुर स्थानीयदेखि राष्ट्रियस्तरसम्मका समसामयिक विषयमा स्पष्ट र निर्भीक रूपमा आफ्ना धारणा राख्दै आएका छन्। विशेषगरी युवा पुस्ताको सहभागिता, शिक्षा, सरसफाइ तथा सामाजिक उत्तरदायित्वका विषयलाई उनले प्राथमिकताका साथ उठाउँदै आएका छन्।
करिब ७–८ वर्षअघि उनले ‘आफ्नो वार्ड आफैँ बनाऔँ’ अभियान सञ्चालन गर्दै सरसफाइदेखि घर–घरमा कोडिङ गर्ने कार्यसमेत अघि बढाएका थिए। त्यसयता पनि उनले विभिन्न समयमा जनकपुरधाममा सरसफाइ तथा जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्।
कोरोना महामारीका बेला समेत सामाजिक गतिविधिमा सक्रिय रहेका ठाकुरले विभिन्न सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। शिक्षा क्षेत्रमा पनि उनी निरन्तर सक्रिय छन्। जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा समितिका सदस्यका रूपमा उनले शिक्षा क्षेत्रको सुधारका लागि पहल गर्दै आएका छन्।
त्यसैगरी, एन–प्याब्सन जनकपुरधाम नगर समितिका अध्यक्षका रूपमा उनले निजी विद्यालय क्षेत्रमा देखिएका समस्या तथा बेथितिको सुधारका लागि आवाज उठाउँदै आएका छन्। शिक्षा क्षेत्रमा गुणस्तर, व्यवस्थापन, अनुशासन तथा विद्यार्थीको समग्र विकासलाई उनले प्राथमिकतामा राख्दै आएका छन्।
ठाकुरले आफ्नो उम्मेदवारीलाई संगठनभित्र युवा सहभागिता, शिक्षा सुधार र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउने बताएका छन्।
उनले भनेका छन्, “शिक्षा र सरसफाइ मेरो प्रमुख एजेन्डाभित्र पर्छ। यसको लागि जति हुन्छ, म हरप्रहर सुधारको पक्षमा रहन्छु।”
प्रदेश प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका ठाकुरले पार्टी संगठनलाई थप सक्रिय र जनमुखी बनाउन युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताउँदै आएका छन्। उनको उम्मेदवारीसँगै धनुषा–३(२) मा कांग्रेसको आन्तरिक निर्वाचनमा युवा सहभागिता, शिक्षा सुधार र सामाजिक अभियानसँग जोडिएका विषयले पनि चर्चा पाएको छ।




















