१४ असोज, काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्दै आएकाछन।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद्को प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, प्राविधिक दक्षता र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका छन।
प्रधानमन्त्री शाहले सांसदहरू नीति निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेकाले आफ्नो विज्ञताको उपयोग गर्दै देश विकासका लागि ठोस योगदान गर्नुपर्ने बताएकाछन।
उहाँले भन्नुभयो, “तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”
प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकाससँग सम्बन्धित प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्री शाहले सांसदहरूलाई परिवर्तनका संवाहकका रूपमा अघि बढ्न आग्रह गर्दै नयाँ उपाय र विचार ल्याएर त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताएकाछन।
नयाँ सोच र योजनाका साथ निरन्तर काम गर्न सके पाँच वर्षमै मुलुकको विकासमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने धारणा पनि प्रधानमन्त्री शाहले व्यक्त गरेका थिए।




















