जनकपुरधाम, असोज २१। हारसर गाउँको पश्चिम टोलमा स्थानीय युवाहरूले सामूहिक रूपमा सडकका पोलहरूमा लाइट मर्मत र नयाँ बल्ब जडान गरेका छन्।
आज टोलका युवाहरूले लामो समयदेखि नबलेका सडक लाइटहरू मर्मत गर्दै केही नयाँ बल्बहरू जडान गरेर गाउँमा रातिको उज्यालो पुनः फर्काएका हुन्।
पहिले सडकका पोलहरूमा लाइट जडान गरिए पनि धेरै समयदेखि बिग्रिएको अवस्थामा रहँदा टोलमा अँध्यारो रहने समस्या हुँदै आएको थियो। रातिको समयमा आवतजावत असुरक्षित हुने र गाउँको सौन्दर्य घट्ने समस्या समाधान गर्न युवाहरूले आफ्नै खर्च र श्रम लगानी गरेर यो कार्य सम्पन्न गरेका हुन्।
युवाहरूको यस सामूहिक प्रयासलाई स्थानीय बासिन्दाले उच्च सराहना गरेका छन्। गाउँका एक स्थानीयले भने, “नगरपालिकाको प्रतीक्षा नगरी युवाहरूले आफैं गाउँका समस्या समाधान गर्न अघि सर्ने साहस देखाएका छन्। यो कामले गाउँमा सुरक्षा र सौन्दर्य दुवै बढाएको छ।”
स्थानीयहरूका अनुसार, नयाँ बल्बहरू जडान भएपछि रातको समयमा गाउँ उज्यालो देखिनेछ, जसले सडक दुर्घटना र चोरीजस्ता जोखिम घटाउने अपेक्षा गरिएको छ।
हारसरका युवाहरू यसअघि पनि टोल सरसफाइ, सडक मर्मत र सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्। उनीहरूको यस्तो पहलले समुदायमा एकता, सहयोग र जिम्मेवारीको भावना बढाएको जनाइएको छ।
नगरपालिकाका जनप्रतिनिधिहरूले पनि युवाहरूको यो कार्यलाई उदाहरणीय भन्दै आगामी दिनमा यस्ता स्व–सहयोगी अभियानहरूलाई समर्थन र प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएका छन्।

















